लाइले खाएर उजाडिएको
बगैंचामा उभिएर
म घोषण गरिरहेछुआज
जिन्दगी ढकमक्क र रंगीचंगी छ
लाइ त दुई दिनको पाहुना न हो
ढकमक्क हुनु वगैंचाको सास्वत सत्य हो।
शिषिरले उजाडेका पखेरामा उभिएर
म घोषणा गरिरहेछु
जिन्दगी हरियाली छ
पतझड त दुई दिनको पाहुना मात्रै हो,
हरियाली हुनु जंगलको मौलिक अधिकार हो
शिषिरलाई हरियाली पार्नु वसन्तको कर्तव्य हो।
औंशिको कालो निशाको रातमा
म घोषणा गरिरहेछु
जिन्दगी पूर्णिमा हो,
औंशि त केहि क्षणको पाहुना न हो,
उज्यालिनु जिन्दगीको अधिकार हो,
चाँदनी चन्द्रमाको अकाट्य सत्य हो ।
अभाव समस्या र व्यथाहरुको बिचमा उभिएर
म घोषणा गरिरहेछु
जिन्दगी सुखै सुखको यात्रा हो,
हजारौं सहयात्रीहरु
बाटोमा बिसाउने शितल चौतारीहरु
प्यास मेटाउने निर्मल झर्नाहरु
गरीवी हटाउने अभियानमासघाउने ज्ञान, सिप
मानवतालाई श्रमसित मितेरी गाँस्दै
समुन्नत भविष्यतर्फ जाने गोरेटाहहरुमा
पाइला पाइलामा उपभोग गर्न पाउनु
मान्छेको जन्मसिद्द अधिकार हो ।
आउ म एउटा शिक्षक
संसार भरिका तिमी कलिला नानिहरुलाई
उजाडता भन्दा परको ढकमक्क बगैंचामा सयर गर्ने पखेटा दिन्छु।
शिषिर पछिको वसन्त पर्खन सक्ने धैर्य,
पुर्णिमाको लागि औशिसंग संघर्ष गर्ने शक्ति
र जञ्जालहरुको व्यूहबिच उभिएर
समुन्नत भविष्यको घोषणा गर्ने साहस दिन्छु।